बिर्तामोड । 

झापाको बिर्तामोडमा रहेका अधिकांश पेट्रोल पम्पहरुमा शौचालय अव्यवस्थित रहेको पाइएको छ । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको हो ।

 नगरपालिकाले बिर्तामोड क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग छेउका १० वटा पेट्रोल पम्पहरुमा अनुगमन गरेको थियो । जसमा वडा नम्बर ६ मा रहेको नविन ट्रेड कन्र्सन, सुगम आयल ट्रृडर्स, वडा नम्बर ५ मा रहेको न्यु दुर्गा अटोमोवाइल्स, बोलबम आयल स्टोर, जय हनुमान ट्रेड कन्र्सन, वडा नम्बर ४ को गणेश अटोमोबाइल्स, वडा नम्बर १ को हनुमान पेट्रोलियम सप्लायर्स, लक्ष्मी आयल पम्प, वडा नम्बर २ को आश्मा ट्रेडर्स एण्ड सप्लायर्स र गौरव ट्रेड एण्ड सप्लायर्स रहेका छन् ।

ती मध्ये वडा नम्बर २ को आश्मा ट्रेडर्स एण्ड सप्लायर्स र वडा नम्बर १ मा रहेको लक्ष्मी आयल पम्पमा रहेका शौचालय राम्रो अवस्थामा रहेको पाइएको छ । आश्मा ट्रेडर्स एण्ड सप्लायर्स सबै मापदण्ड पुरा गरेर शौचालय सञ्चालनमा गरेको र स्पस्ट देखिनेगरि सार्वजनिक शौचालय लेखेर टाँसेको पाइएको छ ।

त्यस्तै लक्ष्मी आयल पम्पले पनि सबै मापदण्ड पुरा गरि शौचालय समेत अपाङ्गमैत्री निर्माण गरेको पाइएको छ । चारपानेमा रहेको लक्ष्मी आयल पम्प भने तत्कालका लागि बन्द अवस्थामा रहेको पाइएको छ ।  बाँकी रहेका अन्य पम्पहरुमा सार्वजनिक शौचालय लेखेको बोर्ड नटाँसिएको, महिला र पुरुष भनेर नछुट्याएको, पानीको व्यवस्था नभएको, अव्यवस्थित र फोहोर रहेको, सर्वसाधारणले सहजरुपमा प्रयोग गर्ने गरि खुल्ला ठाउँमा नभएको पाइएको छ । पेट्रोलपम्पहरुले अनिवार्यरुपमा राख्नु पर्ने अग्नि नियन्त्रणका सामाग्रीहरु भने राखेका छन् । 

मापदण्ड अनुसार नरहेका पम्पहरुलाई ७ दिन भित्रमा सुधार गर्नका लागि निर्देशन दिएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । उनले अनुगमनका क्रममा दिएको म्याद भित्र सुधार भए नभएको बारेमा फेरि अनुगमन गर्ने जानकारी दिए । नगरपालिकाले सर्वसाधारण तथा यात्रुहरुको सहजताका लागि पेट्रोल पम्पहरुमा अनिवार्य रुपमा व्यवस्था गर्नु पर्ने सार्वजनिक शौचालयको निगरानी बढाएको हो ।

अनुगमन टोलीमा नगर उपप्रमुख संग्रौला, वडा नम्बर १ का वडाध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवालगायतको उपस्थिति रहेको थियो ।