शिवसताक्षी । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ ले सामाजिक सुरक्षा भत्ता वितरण र लाभग्राहीको नवीकरण गर्ने भएको छ ।वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिन योग्य लाभग्राहीको नवीकरण गर्ने वडा अध्यक्ष भिम नेम्बाङले जानकारी दिएका हुन् ।

वडामा बसोबास गर्ने वृद्ध वृद्धाहरु, एकल महिलाहरु, अपाङ्ग र अशक्त नागरिकहरुको हितको लागि पायक पर्ने स्थानमा सामाजिक सुरक्षा भत्ता वडा कार्यालयले बितरण गर्न लागेको हो । जेष्ठ तथा एकल नागरिकलाई वर्षा र चर्को घामको समयमा करिव ७ किलोमिटरसम्म हिडेर आउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै दुःख नदिने उद्धेश्यले वडा नम्बर २  का नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हो ।  

वडा र बैकका कर्मचारीहरुको रोहबरमा समय तालिका मिलाएर सामाजिक सुरक्षा वितरण नवीकरण संकलन  गरिने अध्यक्ष नेम्बाङले  बताए । वडा कार्यालयका अनुसार साउन १० गतेदेखि १३ गतेसम्म वडा कार्यलयमा नै भत्ता वितरण गरिनेछ । दैनिक १ सय ५० जानालाई भत्ता वितरण गरिने अध्यक्ष नेम्वाङले बताए । 

वडा कार्यालयमा विहान ११ बजेदेखी कर्मचारी खटिने वडा कार्यालयले जनाएको छ । नविकरण गर्दा नेपाली नागरिकताको प्रमाण पत्र, भत्ता बुझिरहेको लगत बुक र भत्ता बुझिरहेको बैंकको विवरण लगायतका कागजातहरु सामाजिक सुरुक्षा भत्ता लाभग्राहीले साथमा ल्याउनु पर्ने वडा कार्यपालिकाले जनाएको छ ।

 नेम्बाङ बिजय भएपछि  पहिलो पटक वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको  र आगामी दिनमा टोल–टोलमा र पछि घरमै वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष नेम्वाङले जानकारी दिएका छन् । जनप्रतिनिधिले अनुगमन गर्ने, वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ताको लागि अध्यावधि गर्ने र बैकका कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने पनि अध्यक्ष नेम्वाङले  जानकारी दिए ।

वडा कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ को अन्तिम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वडामा वितरण गरेको हो। दुई वर्षदेखी लाभग्राहीले बैक मार्फत सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका थिए । 

शिबसताक्षीको वडा नम्बर २ बाट झिलझिले जादा ५ सयसम्म भाडा लाग्ने दिन भरि लाइन लाग्नुपर्ने बाध्यताको अन्त भएको जेष्ठ नागरिक तिर्थमाया राईले बताइन् । ‘बुढापाकालाई दुःख भयो भनेर सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ’ स्थानीय  जेष्ठ नागरिक दधिराम ढकालले भने ‘तर, घण्टौसम्म लाईनमा उभिएर हैरानका साथ बुझेको पैसाले सुखको अनुभुति भएको थिएन, अहिले आफ्नै टोलमा सामाजिक सुरक्षा भत्ता लिन पाउँदा जनप्रतिनिधिले बुढापाकाको मर्म बुझेको आभास भएको छ ।’

वडा नम्बर २ मा कम्तिमा ६ सय १३ लाभग्राहीले सामाजिक सुरक्षा बापतको भत्ता पाउने छन् । यसपछि असोजमा आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिकको भत्ता पाउने छन् । हिजो चुनाव को बेला नेकपा (माओवादी केन्द्र) ले सामाजिक सुरक्षा भत्ताको लागि दुःख नदिने घोषणा गरेकोले आफूले जिते को ठाउँमा दुःख नदिने लक्ष्य  राखेको छ । त्यस्तै आगामी दिनमा टोल–टोल र घरमै पुर्याउने लक्ष्य राखेको माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए ।