बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार(आज) एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र वेल्ट वितरण गरेको हो ।
व्हील चियर १४ जनालाई, सेतो छडी ५ जनालाई, बैशाखी ६ जनालाई, लौरो ३ जनालाई, कम्बोड चियर १ जनालाई र बेल्ट १ जना गरि जम्मा ३० जनालाई उक्त सामाग्री बितरण गरिएको हो ।
उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, कार्यपालिका सदस्य यामुना आचार्य र सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले सामाग्री प्रदान गरेका थिए ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले राज्यले दिएको सुविधा सबै क्षेत्रमा पुगोस् भन्ने उदेश्यले सामाग्री वितरण गरिएको बताइन् । यस प्रकारका सामाग्रीले दैनिक जिवनयापनमा केहि सहयोग पुग्ने भन्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्वता जनाइन् ।
यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वितरण गरिएका सामाग्रीहरुको भरपुर उपयोग गर्न सबैलाई आग्रह गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बनाउन नगरपालिका संधै तत्पर रहेको धारणा ब्यक्त गरे ।
स्थानीय अपाङ्गता भएका व्यक्तिको अधिकार समन्वय समितिका संयोजक नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए ।