बिराटनगर।
धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाको प्रहरी टोलीले छिन्ताङबाट धरानतर्फ जाँदै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो ।
त्यसैगरी गाडीमा लागूऔषध गाँजा बरामद भएसँगै चालक शहिदभुमी गाउँपालिकापा–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका–४ बाट ठुलो परिमाणको गाँजासहित एक जना पक्राउ परेका छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारेको हो ।
पिकअपमा गाँजा बरामद भएसँगै चालक सहिद भुमि गाउँपालिका–२ धनकुटाका २० बर्षीय तेज राईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।