काँकडभिट्टा ।

मेचीनगर नगरपालिका र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बाहुनडाँगीमा शनिबार मेचीनगर नगरपालिका–४ र खाँदबारी नगरपालिका–४ नम्बर वडाबीच भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

 मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की र खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

 भगिनी सम्बन्ध कायम गरिएको पत्रमा प्रदेश नम्बर १ को संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ४ लाई ऐतिहासिक नेपाली परम्परा अनुसार मित लगाउने वा भगिनी सम्बन्ध स्थापित गर्न हामीबीचमा सुमधुर ऐतिहासिक निर्णयमा पुगेको उल्लेख छ ।

 भौगोलिक, साँस्कृतिक, धार्मिक, सामाजिक एवम् व्यापारिक सम्बन्ध स्थापना गर्न, दुई पक्ष सम्बन्धलाई कालान्तरसम्म दुवै वडाको सम्पूर्ण वडाबासीहरुको हितका लागि भगिनी सम्बन्धको रुपमा विकास गर्न, दुवै वडाको विविध क्षेत्र तथा विषयहरुमा सहकार्य र सहअस्तित्व कायम गराउने पत्रमा उल्लेख छ ।

  यसअघि पनि मेचीनगर नगरपालिका र बेलायतको फोक्स्टन सिटीबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । मेचीनगरका पूर्व मेयर र फोक्स्टन सिटीका पूर्व काउन्सिलर मेचीनगरकै स्थानीय धनकिरण गुरुङको सहयोगमा त्यहाँकी मेयरबीच ३ वर्षअघि भगिनी सम्बन्ध स्थापना भएको थियो ।