बिराटनगर।

नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा आर्थिक बर्ष २०७८/०७९ मा ८ हजार ५५ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तै ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको छ । 

संगठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै १ नम्वर प्रदेश भरीमा कार्यरत सम्पूर्ण प्रहरी कार्मचारीहरुले आफ्नो पदिय दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुरुप उल्लेख्य मात्रामा सफलता हासिल गरेको हो । 

यस आर्थिक बर्षमा ८ हजार ५५ वटा बिभिन्न अपराध सम्बन्धि शिर्षकमा मुद्दा दर्ता भई कानुनी कारवाही भएको छ भने ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट गरिसकेको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७  हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ ।  नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ३७ जना ब्यक्ति र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ । त्यस्तै अबैध काठ चोरी निकासीमा संलग्न ४७ जना ब्यक्ति पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यूफिट काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यसैगरी ट्राफिक ब्यबस्थापनतर्फ यस आर्थिकमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनहरुलाई कारवाही गरी  १८ करोड १ लाख ५९ हजार  राजश्व संकलन भएको छ छ । लागूऔषध नियन्त्रणतर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७  मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरिएको र ४ हजार ८ सय २१  रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ । 

प्रहरी कार्यतर्फ उत्कृष्ट कार्य गर्ने १ हजार ८ सय ६४ जना  प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ भने प्रहरी आचरण बिपरित कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीहरुलाई बिभागीय  कार्वाही गरिएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।