बिराटनगर ।
इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
झापा अर्जुनधारा नगरपालिका–४ जुँकेखाडी साहसी टोल स्थित कच्ची सडक खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले कर्तव्य गरी मारी बोरामा प्याक गरेर फालेको अवस्थामा तत्काल पहिचान नखुलेको मृतक पुरुषको लाशको सुक्ष्म रुपमा अनुसन्धानसहित उक्त लाशको पहिचान खुलाउन सफल भएका उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
उनले घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।
पुरस्कृत भएका कुवरले लागूऔषध, चोरी लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरीले जनाएको छ । त्यस्तै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवरलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आईएको छ ।