मोरङ ।
बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको हो ।
युरेनियम जस्तो पदार्थ लिएर बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले धनपालथान गाउँपालिका–७ का ४१ बर्षीय शिव शंकर पासवान, धनपालथान गाउँपालिका–४ का ३७ बर्षीय मुकेशकुमार साह, धनपालथान गाउँपालिका–७ का ४३ बर्षीय प्रदिप पुरी, कटहरी गाउँपालिका–२ का ४० बर्षीय दिलिपकुमार शर्मा, बिराटनगर–१२ का ४६ बर्षीय फटिक कुमार कार्की, माप्य दुधकोशी गाउँपालिका–७ सोलुखुम्बुका ३५ बर्षीय गोपाल मगर, हलेसी नगरपालिका–९ खोटाङका ३२ बर्षीय किरन राई र धनपालथान गाउँपालिका–७ का ४४ बर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी बिराटनगरकै दुधफारममा समेत केही ब्यक्तिहरु रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानको प्रहरी टोलीले सो स्थानबाट ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गण्डकी गाउँपालिका–८ गोरखाका ४५ बर्षीय जीवन गुरुङ, मङहा नगरपालिका–६ महोत्तरीका, ४२ बर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका–१२ महोत्तरीका ३० बर्षीय चन्दनकुमार महतो, ग्रामथान गाउँपालिका–३ मोरङका ५५ बर्षीय रबिन्द्र गच्छदार, बागमती गाउँपालिका–५ मकवानपुरका ३६ बर्षीय दिपककुमार भ्लोन, मनराषिशवा नगरपालिका–३ महोत्तरीका ४९ बर्षीय उमेशप्रसाद यादव र कमलामाई नरगपालिका–५ सिन्धुलीका २८ बर्षीय श्याम घिमिरे रहेका छन् ।
पक्राउ परेका उनीहरुको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।