अर्जुनधारा ।
श्रावणी पर्वको पहिलो सोमबार झापाको अर्जुनधारा–७ स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा जलार्पण कार्यक्रम सम्पन्न भएको छ ।
आज विहान ४ बजेदेखि शुरु भएको जलार्पण कार्यक्रममा झापा, मोरङ र सुनसरीसहित छिमेकी देश भारतको पश्चिम बंगालबाट आएका सयौं भक्तजनहरुको सहभागिता रहेको अर्जुनधारा संस्कृत वेद विद्यापीठका शिक्षक चिरञ्जिवी ढुंगानाले बताए ।
सोही कार्यक्रमको अवसरमा भगवान शिवको विशेष पूजाअर्चनासहित रुद्राभिषेक, धामका व्यसाचार्य कुवेर सुवेदीबाट श्रावणी पर्वको महिमा बारे विशेष प्रवचन भएको बताइएको छ ।
यता श्रावणी पर्वको अवसरमा देशकै पहिलो डाङग्रे बाबाको पूजास्थल रहेको झापाको अर्जुनधारा–७ स्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा पनि विशेष पूजा अर्चनासहित जलार्पण कार्यक्रम सम्पन्न भएको छ ।
धामका पूजारी लालबहादुर धिमालका अनुसार विहान ४ः४५ बजेदेखि नै भक्तजनहरुले धामको गर्वगृहमा रहेको नर्वदेश्वर शिवालयको शिवलिङ्गमा जलार्पण गरेका थिए ।
त्यसैगरी साँझ विशेष पूजाअर्चनासहित प्रवेश मार्गमा रहेको २१६ वटा दिप प्रज्वलन, भजन किर्तनको कार्यक्रम रहेको धाम संरक्षण समितिका सल्लाहकार बमबहादुर नेम्वाङले जानकारी दिए ।