अर्जुनधारा । 

झापा विद्रोहमा लागेर १७ वर्ष कठोर जेल जीवन बिताएका मानकुमार तामाङले पक्की घर पाएका छन् । एउटा घरसम्म बनाउन नसकेका झापा अर्जुनधारा–१ को एउटा काठे टाँटमा जीवन गुजार्दै आएका तामाङका लागि स्थानीय लेखक र पत्रकारले पक्की घर बनाइदिएर आज (बुधवार) हस्तान्तरण गरेका हुन् । गुरुपूर्णिमाको अवसर पारेर उनलाई घर हस्तान्तरण गरिएको हो । चुहिने र भत्किन लागेको कच्ची घरबाट शुभेच्छुकले बनाइदिएको भवनमा सर्दा तामाङ खुसी भएका थिए । 

‘त्यत्तिका बर्ष जेल बसेर फकिँदा जुन खुसी थियो’ तामाङले भने ‘आज नयाँ घरमा प्रवेश गर्दा उस्तै खुसी लागेको छ ।’  उनले सबैका घर हुन्, कोही भोकै बस्न नपरोस् भनेर आन्दोलन गरेको बताए । यत्रो वर्ष राजनीति गर्दा बल्ल आफुले घर पाएको बताउँदै परिवर्तनका लागि गरेको आन्दोलनमा जीवन लगाउने योद्धालाई राज्यले हेर्नु पर्नेमा त्यस्तो नभएको भन्दै तामाङले गुनासो गरे ।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि कृष्णप्रसाद भट्टराईको सरकारले राजनीतिक पीडितका लागि केही राहत रकम उपलब्ध गराएको थियो । त्यतिबेला तामाङले ७० हजार राहत प्राप्त गरेका थिए । त्यसबाहेक आफ्नै सहयोद्धा केपी ओली, सीपी र आरके मैनाली सरकारमा जाँदा पनि क्रान्तिकारी योद्धालाई नसम्झिएको उनले भनाई थियो ।

सोही राहतबाट उनले पाँच कठ्ठा ऐलानी जग्गा किनेर बसेका थिए । सक्रिय राजनीतिमा नरहेका तामाङ लामो समय एमाले र पछि माओवादी केन्द्रका समर्थकका रूपमा रहे । आर्थिक कारणले सक्रिय राजनीतिमा हिँड्न भने सकेनन् । उनका एक छोरा दमकमा मजदूरी गर्छन् ।

राजनीतिमा लाग्ने धेरै नेताले लाभ उठाए पनि १७ वर्ष जेल बसेका योद्धाको दयनीय स्थिति देखेपछि लेखक, पत्रकारहरूको पहलमा सहयोग अभियान चलाएर घर बनाएको निर्माण समितिका सदस्य तीर्थ सिग्देलले बताए । अभियान सुरु गर्दा उनी पनि पत्रकार नै थिए । अहिले नेकपा एकीकृत समाजवादीका जिल्ला नेता छन् । तर, यो अभियानमा राजनीति नजोडिएको उल्लेख गर्दै सिग्देलले भने, ‘देशविदेशमा रहनु भएका समाजसेवी दाता, पत्रकार र लेखकको पहल तथा सहयोगबाट घर निर्माण भएको हो ।’

सिग्देल, लेखक कुमार भट्टराई, दिपिन राईलगायत ५–६ जनाको पहलमा तामाङलाई सघाउने अभियान थालिएको थियो । उनको घरमा खाट र अरु बन्दोबस्तीका सामान पनि पर्याप्त नभएकाले त्यो पनि जुटाउन लागि परेको सिग्देल बताउँछन् । उनका अनुसार, घर निर्माणमा अहिलेसम्म १० लाख खर्च भइसकेको छ । त्यसमध्ये डेढ लाख ऋण छ ।