बिर्तामोड । 

वित्तिय साक्षरता तथा बजारीकरण सम्वन्धी एक दिने अभिमुखिकरण तालिम बिर्तामोडमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कुनैपनि काम ठुलो सानो नहुने भएकाले आफुले सिकेको सिपलाई रोजगारीमा परिणत गर्न सहभागिहरुलाई आग्रह गरे । नगरपालिकाले एक हजार पाँच सय जनालाई सिप सिकाएर उद्यमी बनाउने लक्ष्य लिएको भन्दै उनले महिलाहरु आफ्नो खुट्टामा आफैँ उभिन सक्षम हुनु पर्नेमा जोड दिए । उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई वजारीकरण गर्नका लागि नगरपालिकासँंग सहकार्य गर्न पनि उनको सुझाव थियो । 

कार्यक्रममा नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रहेर महिलाहरुलाई  उद्यमी बनाउने नगरको लक्ष्य रहेको बताए । स्वरोजगार र उत्पादनसँग जोड्नका लागि यस प्रकारका कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

सहभागिहरुलाई नगरका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहाल, एक्सल बैङ्कका शिवकुमार गिरी र टिका ्रसाद दाहालले प्रशिक्षण प्रदान गर्नु भएको छ ।

वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाको अध्यक्षता तथा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रुमख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन वरिष्ठ उद्यम विकास सहजकर्ता चनिमाया तामाङ्गले गरेकी थिइन् । कार्यक्रममा  लघु उद्यम विकास कार्यक्रम अन्तर्गत छनोटमा परेका ५५ जनाले सहभागिता जनाएको सहजकर्ता कल्पना शिवाकोटीले जानकारी दिइन् । कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेको अचार, धुप, मसलालगायतका सामाग्रीहरु समेत राखिएको थियो ।