झापा ।
झापाको शनिश्चरे(बिर्तामोड सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि फिदिमका कुमार खनालको मृत्यु भएको हो । मृतकको साथमा रहेको नागरिकतामा पाँचथर फिदिम नगरपालिका ५ का कुमार खनाल उल्लेख छ ।
अर्जुनधारा नगरपालिका ६ कप्तानबारी नजिकमा रहेको कल्भर्टमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा मोटरसाइकल चालक सडकमा घोप्टो परेको अवस्थामा भेटिएका थिए । कल्भर्टमुनि उनी सवार बा। ४२ प १२८ नम्बरको होण्डाको युनिकर्न मोटरसाइकल पल्टिएको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।
आइतवार (आज) बिहान मर्निङ वाकमा निस्किएका मानिसहरुले सडकमा मृत शरीर र कल्भर्टमुनि मोटरसाइकल देखेर प्रहरीलाई खबर गरेको प्रहरी चौकी शनिश्चरेका इन्चार्ज प्रहरी नायव निरीक्षक रवि राईले बताए ।
उनका अनुसार खबर पाउनासाथ प्रहरी चौकी शनिश्चरेको टोली खटिँदा मृतकको गोजीमा फिदिम ५ घर भएका कुमार खनालको नागरिकता फेला परेको थियो । मृतक कुमार खनाल नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ । फिदिम घर भइ हाल झापाको बुद्धशान्ति २ मा बसोबास गर्दै आएका मृतकका दिदीले पहिचान गरेको पनि प्रहरीले जनाएको छ । ४–५ वर्ष यता उनी जयपुरमा बसोबास गर्दै थिए ।