हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ काजली बजारमा निमार्ण भएको श्री श्री १००८ बाबा गणिनाथ समाबेसी सेवा समितिद्वारा निर्मित प्राचीन बाबा गणिनाथ मन्दिर तथा धर्मशाला निर्माण कार्यको आय ब्यय सार्वजनिक भएको छ। निमार्ण समितिका अध्यक्ष नितेश्वर साह हलुवाईको अध्यक्षतामा बसेको बैठकमा आम्दानी तथा खर्चको बिल भरपाईसहित आय ब्यय सार्वजनिक गरिएको हो।
निर्माण कार्यमा जम्मा ३३ लाख ५६ हजार ६१ रुपैयाँ सहयोग संकलन भएको सापटी २ लाख ४१ हजार ६ सयसहित खर्च ४३ लाख २ हजार ८९९ रुपैयाँ बाँकी ९ लाख ४६ हजार ७५२ रुपैयाँ बाँकी रहेको हिसाव सार्वजनिक भएको छ।
जस अन्तर्गत जन आर्थिक सहयोगबाट २० लाख २६ हजार ४३७, हल्दिबारी गाउँपालिकाको कार्यालय र वडा नम्बर–४ बाट ५ लाख ७६ हजार २२५, वडा नम्बर–३ बाट २० हजार ६८५, प्रदेश नम्बर–१ का ॐ प्रकाश सरावगीले निर्वाचन क्षेत्र बिकासकोषबाट ४ लाख ७९ हजार ५१४, सहदेब शाहबाट १ बण्डल रड, ५ पिस इट्टा र जहरमान फागुद्वारा २ ट्र्याक्टर बालुवा सहयोग भएको जनाइएको छ।
गत २०७८ बैशाख १३ गते सशलान्यास गरिएको उक्त मन्दिर तथा धर्मशाला कोभिड–१९ को प्रकोपको महामारीमा पनि निरन्तर निर्माण कार्य जारी रहेको थियो। आर्थिक बर्ष २०७९ मा वडा नम्बर ४ ले एक लाख, प्रदेश नम्बर १ ले २० लाख बजेट बिनियोजन गरेकोछ भने हल्दिबारी गाउँपालिकाको नीति तथा बिकास योजनामा अटाउन नसकेको बताएको थियो।
मिथिला संस्कृती र समाबेशीताको प्रतिनिधित्व गर्ने उक्त प्राचीन मन्दिर तथा धर्मशाला निर्माण कार्यले हल्दिबारीको मात्र नभएर सिङ्गो प्रदेश नं. १ कै उदाहरणीय धामको रुपमा स्थापित भै आन्तरिक पर्यटनलाई बढोत्तरी गर्ने बिश्वासले प्रत्येक बर्ष कृष्ण अष्ठमीपछिको शनिबार गणिनाथ जन्मोत्सव तथा पुजन समारोहको कार्यक्रमले करीब ५ हजार घरधुरीलाई सामुहिक भेला गर्ने गरेको बताएको छ। उक्त निर्माण कार्य अनुमानित १ करोड २५ लाख रुपैयाँ बराबरको हुने जनाइएको छ । स्थानीय उदय साह, उमेश साह र रामु साहले १ कठ्ठा १० धुर जग्गा निःशुल्क प्रदान गरेका हुन् ।