शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट विनियोजन गरेको छ । नगरका सामुदायिक बिद्यालयमा बिद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम अन्तरगत ‘स्मार्ट’ बिद्यालयको अवधारणा ल्याएको कमजोर बिद्यालयलाई मर्ज गरिने नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन) ले बताएका हुन् ।
‘अघिल्ला जनप्रतिनिधिले गरेका राम्रो कामलाई निरन्तरता दिएका छौं’ नगर प्रमुख थोप्राले भने ‘किसानका लागि सिंचाइमा प्राथमिकता दिदै रासायनिक मलको समस्यालाई कम गर्ने र प्रराम्भिक मलमा जोड दिनेछौं ।’ उनले प्रत्येक क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने बताउँदै दमकल खरिदका लागि एक करोड रुपैयाँ बिनियोजित गरेको जानकारी दिए । उनले युवालाई नयाँ प्रविधि हस्तान्तरण, प्रत्येक वडामा ज्ञानघरको स्थापना, बजारमा सडकबत्ति जडान, सिसि क्यामेरा जडान गर्ने बताएका छन् । ‘नगरको विकासमा कायपलट गर्छु भन्दिन’ नगर प्रमुख थोप्रोले भने ‘नगरका आधारभूत कुरालाई अघि वढाइने छ ।’ नगर प्रमुख थोप्राले रिङरोड, रंगशाला, दोमुखा पर्यटकीय स्थल र सतासीधाम नगरका गौरबका बिषय भएकाले ती क्षेत्रहरुमा पनि विकासका लागि बजेट छुट्याएका बताए ।

नगर उपप्रमुख नरमाया कार्कीले निम्न आया भएका किसानको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएको, निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने, किसान लक्षित कार्यक्रम ल्याउने, महिलालाई आत्मनिर्भर बनाउने बताएकी छिन् ।
रिपोर्टर्स क्लव नेपाल मेची शाखाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा शिवसताक्षी नगरमा बिहीवार (आज) ‘बजेट प्राथमिकता र कार्यान्वयन पक्ष‘ बिषयक जनप्रतिनिधिसँग भएको साक्षात्कार कार्यक्रममा नगर प्रमुख मेघाहाङ थोप्राले नगरका सामुदायिक बिद्यालयलाई स्मार्ट बनाउने बताएका हुन् ।
रिपोटर्स क्लब मेचीका अध्यक्ष शेखर सेढाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थोप्रा, विशिष्ठ अतिथि नगर उपप्रमुख कार्की, अतिथि प्रमुख प्रशासकीय अधिकृत अमृत राई, योजना अधिकृत प्रकाश चौधरी, लेखा अधिकृत प्रकाश योङ्हाङलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।


















