बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाको दोश्रो नगरसभा अन्तर्गतको पहिलो अधिवेशन सम्पन्न गरेको छ । बुधबार (आज) नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा बसेको पहिलो नगरअधिवेशनको दोश्रो बैठक असार १० गते पेश भएको नीति, बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव तथा विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको हो ।
बैठकले निर्णयार्थ प्रस्तुत गरिएका आर्थिक वर्ष २०७९/८०को नीति,बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव, आर्थिक विधेयक, विनियोजन विधेयक, सहकारी विधेयक, स्वास्थ्य विधेयक र कर तथा गैह्रकर राजश्व सम्बन्धि विधेयक पास गरेको हो ।
कार्यक्रम तथा विधेयक माथि वडा नम्बर ६का वडासदस्य जिवन बाँस्कोटा,वडा नम्बर ५ का वडा सदस्य दुर्गा शिवाकोटी र वडा नम्बर १०का वडासदस्य पृथ्वी बस्नेतले सुझाव राखेका थिए ।
बैठकले बिर्तामोड नगरका १० वटै वडाहरु सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोपयुक्त वडा घोषणा भई सकेको हुँदा बिर्तामोड नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गर्ने निर्णय गरेको छ । यस्तै बिर्तामोड नगरपालिका अन्तर्गत कार्यरत ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक रुपमा (दशैं तिहारको अवसरमा) प्रोत्साहन स्वरुप एकमुष्ठ रकम १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले न्यायिक समितिको आर्थिक वर्ष २०७८/०७९को प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा यस अवधिमा न्यायिक समितिमा जम्मा ४७ थान मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १५ गरी जम्मा ६२ थान मुद्दाको कार्वाही गरिएको जनाइएको छ । दर्ता भएका मध्ये ४७ थान मुद्दा फरछ्र्यौट गरिएको,१५ थान मुद्दा कार्बाहिको प्रकृयामा रहेको र उक्त मुद्दालाई आगामी आर्थिक बर्षमा जिम्मेवारी सारी कार्बाही प्रकृया अघि बढाईने जनाइएको छ । बैठकले नगरको न्यायिक समिति सदस्यमा २ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा वडा नम्बर ७ का वडा सदस्य खडानन्द निरौला र वडा नम्बर १की वडासदस्य कमला महरा रहेका छन् । बैठकमा प्रमुख प्रशाुसकिय अधिकृत विनोदकुमार न्यौपानेले दोस्रो नगर सभाबाट पारित भएका निर्णयहरुलाई प्रस्तुत गरेका थिए ।
बैठकको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले आगामि ५ वर्षको लागि गुरुयोजना निर्माण गरेर अघि बढ्नु पर्ने बताइन् । बिर्तामोडमा फोहोरमैला व्यवस्थापन, ढल निकास, सार्वजनिक शौचालयको समस्या रहेको भन्दै उनले सम्मुनत विकासको अवधारणा अनुसार विकास गर्दै जानु पर्ने बताइन् । उनले बजेट र नीति तथा कार्यक्रममा तालमेल हुनु पर्नेमा जोड दिइन् । प्रतिनिधि सभासदस्य खरेलले संघिय सरकारबाट बिर्तामोड नगरपालिका क्षेत्र भित्र परेका बजेटहरुको बारेमा समेत जानकारी गराएका थिए । बैठकमा बोल्दै वडानम्बर ६का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगरकमिटिका उपसभापति सूर्यप्रसाद कन्दङ्गवाले करको दायरालाई फराकिलो बनाउन वडा तथा टोलविकास संस्थाहरुलाई जिम्मेवारी दिएर नगरपालिकाले निगरानी गर्नु पर्ने बताएका थिए ।
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँ बजेट सहितको नीति तथा कार्यक्रम असार १० गते प्रस्तुत भएको थियो ।