चारपाने ।
बढ्दो शहरीकरणका कारण साँघुरिदै गएको चारपाने क्षेत्र र वढ्दो सवारीको चापलाई व्यवस्थापन गर्ने उदेश्यले झापाको बिर्तामोड–२ स्थित चारपानेका युवाहरु क्रियाशील भएका छन् ।
युवाहरुले सहयोगी युवा समुह गठन नै गरेर ट्राफिक ब्यवस्थापन र सडक किनारका पसललाई स्तान्तरण गर्ने कार्य गरिरहेका छन् । सहयोगी युवा समुहले चारपानेमा जहाँ पायो त्यहाँ रोकिने यात्रुबाहक वसका लागि बस स्टेण्ड स्थापना गरेका छन् । वढ्दो सवारी साधनले गर्दा दुर्घटना बढ्ने भन्दै त्यसको न्युनिकरणका लागि चारपाने चोकको हनुमान मन्दिर पूर्वपट्टि पूर्व बस स्टेण्डको ब्यवस्थापन गरेको सहयोगी युवा समुहका संयोजक खेमराज गिरीले जानकारी दिए ।
गिरीका अनुसार चारपाने शनिश्चरे सडक आसपासमा रहेका फलफूल पसललाई स्तान्तरण गरेका छन् । अब्यवस्थित रुपमा पार्किङ गरिने अटोलाई कालोपत्रे भन्दा बाहिर पार्किङ गराइने छ ।
सात जनाको कार्यसमिति रहेको समुह १५/१६ दिन अघि गठन भएको संयोजक गिरीले बताए । सहयोगी युवाले चारपाने चोकका पूर्व र पश्चिम साइडमा बस बिसौनी स्थान तोकेको छ । नियम विपरित बस रोक्दा ट्राफिक प्रहरीसँग समन्वय गरी जरिवाना समेत गराइने गरेको संयोजक गिरीले जानकारी दिए । उनका अनुसार २०/२२ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवानासमेत लिएको छ । समुहले पुराना ट्राफिक साइनबोर्डलाई रंगरोधन गरेको छ भने थप नयाँ साइनबोर्डहरु समेत राखेका छन् ।
समुहले चाँडै पश्चिम बस स्टेण्डमा यात्रु प्रतिक्षालय निर्माण गर्ने र रामचोकमा अब्यवस्थित ट्रकलाई ब्यवस्थित गर्ने संयोजक गिरीले जानकारी दिए । समुहले केहीदिन अघि परेको अबिरल बर्षाका कारण आएको बाढीमा पर्नेहरुको उद्दार समेत गरेको जनाइएको छ ।