बिर्तामोड । 

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने बताएकी छन् ।  

सोमबार वडा नम्बर २ को श्रीहरि सामुदायिक भवनमा आयोजना गरीएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकका उत्पादनहरु कुहिएर जान नदिनका लागि ३ वटा कोल्ड स्टोर र आफ्नै उत्पादनको कृषि संकलन निर्माणका लागि प्राथमिकताका साथ योजना अगाडी बढाउने बताएकी हुन् । विचौलियाकाकारण कृषकहरुले उत्पादन गरेका बस्तुहरु वेचविखन गर्न नसक्नु कृषकका लागि ठुलो असर रहेको भन्दै उनले बजार व्यवस्थापनका लागि समेत नगरपालिकाले पहल गर्ने बताइन्  । 

सहभागीहरुको जिज्ञासामा बोल्दै नगरप्रमुख प्रसाईले सिमित बजेटकाकारण सबै विकास निर्माणका कार्य एकै पटकमा गर्न नसकिने बताइन् । उनले आवश्यक बजेट नहुँदा जनताका इच्छा अपेक्षा अनुसार काम गर्न समस्या हुने गरेको धारणाराखिन्। नगरप्रमुख प्रसाईले योजना निर्माण स्थलहरुमा सबै परिचय खुल्ने वोर्डहरु अनिवार्य राख्नु पर्नेमा जोड दिइन् ।

यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरपालिकामा सेवाग्राहीले सरल र सुलभ तरिकाले सेवा पाउने प्रत्याभुति दिलाए  । सहभागीहरुले राखेको जिज्ञासामा बोल्दै नगर उपप्रमुख संग्रौलाले नगरका सबै वडाहरुमा बजेट समानुपातिक तरिकाले वितरण गरेको बताए । वडाहरुमा नगरको योजनाहरु समेत रहेको भन्दै उनले थप ठुलो विकासको लागि प्रदेश र केन्द्र सरकारसंग माग गर्ने बताए । भ्रष्टचारको विरोध गर्दै उपप्रमुख संग्रौलाले जनप्रतिनिधिहरुलाई अनावश्यक आक्षेप नलगाउन आग्रह पनि गरे । 

सहभागीहरुको जिज्ञासालाई नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले जवाफ दिएका थिए । सहभागीहरुले घाग्रा खोलाको पुल, पैनी, डुवान, विपन्न आवास, विद्युत विस्तार, सडक बत्ति, पार्कीङ, विकास, वजेट, कृषि लगायतका विषयमा समस्याहरु राखेका थिए । 

आर्थिक वर्ष २०७८/०७९ को तेस्रो चौमासिक अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई झापा युनेस्को संघ, नेपालले सहजीकरण गरेको थियो ।