मोरङ ।
जिल्ला प्रहरी कार्यालय मोरङले डर, धाक धम्की दिएर रकम माग गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका–४ कञ्चनबारी बस्दै आएका ३९ बर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे–६ का २६ बर्षीय विशाल ऋषिदेव रहेका छन् ।
उनिहरुले बिराटनगर–३ का मुकेश शर्मालाई पटक–पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आईरहेका थिए । असार १७ गते शुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे–६ हसन्दह स्थित रहेको आइएमइमा उनीहरुलाई रकम पठाएको जानकारी पाएपछि उक्त स्थानमा प्रहरीको टोलीले आइएमईमा पठाएको नगद रकम २५ हजारसहित ऋषिदेवलाई पक्राउ गरेको हो ।
ऋषिदेव पक्राउ परेपछि संलग्न कार्कीलाई समेत नियन्त्रणमा लिई दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।