झापा । 

झापा अर्जुनधारा–१ स्थित टप्पुकी चन्द्रमाया बिक शनिबार धेरै खुसी भएकी छिन् । उनले ७३ बर्षको उमेरमा आफुले जोतभोग गरेको जग्गाको धनिपूजा पाएपछि औधि खुसी देखिएकी हुन् । ‘७३ वर्षको उमेरमा धनीपूर्जा पाएको छु उनले भनिन् ‘धनीपूर्जा पाएजस्तै लागेको छ, धेरै खुसी छु ।’ 

 उनले जोतभोग गर्दै आएको जमिनको लगत संकलन गरिएको प्रमाणपत्र पाएकी हुन् । त्यसलाई सरकारी भाषामा निस्सा भनिन्छ । उनलाई निस्सा  राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेले प्रदान गरेका हुन् । 

 करिब डेढ वर्षअघि नै लगत संकलन गरिसकिएको भए पनि विविध कारणले सम्बन्धित व्यक्तिलाई निस्सा वितरण गरिएको थिएन । 

अर्जुनधारा वडा नम्बर १ मा रहेका भूमिहिनहरुलाई आयोगका अध्यक्ष पाण्डे, नगर प्रमुख बलदेव सिंह गोम्देन, वडाध्यक्ष उपेन्द्र बस्नेतललगायत जनप्रतिनिधिले निस्सा वितरण गरेका छन् । निस्सा भनेको सम्बन्धित व्यक्तिबाट जग्गाको फारम भरिएको नगरबाट प्रमाणित कपी भएको कागज हो । । उनले स्थानीयलाई आश्वस्त पार्दै आफ्नो कागजात बुझाएको प्रमाण भएकाले सुरक्षित राख्न आग्रह पनि गरे । ‘निस्सा अस्थायी धनीपूर्जा पनि हो’, उनले भने, ‘सक्कल धनीपूर्जा नाप नक्सापछि पाइन्छ ।’ निस्सा पाइसकेपछि नाप नक्सांकनका लागि चाँडै कन्ट्रोल प्वाइन्ट खडा गरेर प्रक्रिया अघि बढाउन नगरसमक्ष उनले आग्रह पनि गरेका छन् । उनले भूमिहिनलाई सकेसम्म चाँडो धनीपूर्जा हातमा दिनका लागि अपनाउनु पर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिए । 

अर्जुनधाराका प्रमुख गोम्देनले भूमिहिनहरुको समस्या र बल्झिरहने खोलाको समस्या पहिलो प्राथमिकतामा रहको बताए । उनले भूमिहिनले पाएको निस्सा धनीपूर्जा पाउने पहिलो आधार भएको भन्दै यसमा समस्या नबल्झाइ अघि बढ्न कोही पनि प्रलोभनमा नपर्न सचेत गराएका छन् ।  उपप्रमुख खड्गमाया पराजुलीले निस्सा वितरणले स्थानीयले धनीपूर्जा पाउने आशा जागेको सुनाइन् । आयोगको कामले मूर्तरुप लिने विश्वास व्यक्त गर्दै कुनै विवाद भए तत्काल समाधान गर्न जुट्नुपर्ने तर अवरोध आउने कुनै काम गर्न नहुनेतर्फ पनि औँल्याइन् ।

 आयोगका सदस्य सचिव तथा नापी शाखा झापाका प्रमुख दुर्गादास महर्जनले निस्सा अव्यवस्थितरुपमा बसोबास गरिरहेका र भूमिहिन भएको यकिन गरेको प्रमाण भएको सुनाए । उनले धनीपूर्जा पाउनुअघि नाप नक्सांकन गर्न समय लाग्ने भन्दै प्रारम्भिक चरणबाटै काम अघि बढ्ने पनि बताए । वडाध्यक्ष बस्नेतले वडामा १ हजार ५११ जना भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुले नगरमा लगत संकलन गराएको जानकारी दिए ।

वडा सदस्य मदन लिमेलले स्वागत गरेको कार्यक्रममा वडाध्यक्ष बस्नेतले औचित्यमाथि प्रकाश पारेका थिए भने आयोगका जिल्ला सदस्य तारा सुवेदी, स्थानीय नयन अधिकारी, पवन खनाललगायतले आफ्नो जिज्ञासासँगै वस्तुस्थितिबारे जानकारी गराएका थिए ।