सुनसरी । 

सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घछनामा परी दुई जनाको मृत्यु भएको छ ।  ईटहरी उपमहानगरपालिका–१७ पकली चौकको पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका–५ का ७५ बर्षीय मंगलु चौधरी रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साईकल यात्रीलाई ठक्कर दिदा गम्भिर घाइते भएका चौधरीको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । 

त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–१२ चौकी मोड स्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल ईटहरी उपमहानगरपालिका–१२ स्थित रिलायन्समा काम गर्ने ५० बर्षीय लालुप्रसाद विस्वास रहेका छन् ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिएर दुर्घटना हुँदा गम्भिर घाइते भएका साईकल यात्री विस्वासको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको थियो । मोटरसाइकल चालक काठमाडौं नागर्जुन नगरपालिका –८ का २६ बर्षीय सुभाष तामाङ र पछाडी सवार संखुवासभा शभापोखरी गाउँपालिका ६ का २५ बर्षीया शिखा लिम्बु समेत घाईते भएर खनार स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको छ । दुवै घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।