बिर्तामोड ।
हल्दिवारी गाउँपालिकाको सहयोग तथा टाइम्स मिडिया नेटवर्कको आयोजनामा दुई दिवसीय महिला अधिकार तथा विद्यमान कानुन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । असार १३ देखि शुरु भएको कार्यशाला १४ गते सम्पन्न भएको हो ।
महिला अधिकार र विद्यमान कानुनका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यशालामा हल्दिवारीका महिला जनप्रतिनिधि, विधार्थी र अगुवा महिलाहरुको सहभागिता भएको थियो । कार्यशालामा पहिलो दिन झापा बारकी सचिव एवम् अधिवक्ता हेमकला कट्टेल र दोस्रो दिन मोरङकी अधिवक्ता विष्णु कुमारी तामाङले सहजीकरण गरेका थिए । उनीहरुले वर्तमान समस्याहरुका बारेमा जानकारी दिदैं संविधानमा भएका अधिकारका बारेमा सहजीकरण गरेका थिए ।
दुई दिवसीय कार्यशालामा सहभागीहरुलाई महिला अधिकार र विद्यमान कानुनबारे समूहगत छलफल गराइएको थियो । सहभागीहरुले दुई दिवसीय कार्यशालाबाट महिला अधिकारका बारेमा सिक्ने अवसर पाएको बताएका थिए । टाइम्स मिडिया नेटवर्कका अध्यक्ष नारायण प्रसाद पोखरेलको अध्यक्षमा सम्पन्न कार्यक्रम गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीका प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथी मैनालीले महिलाहरुले आफ्ना अधिकार र कानुन बारे जानकारी नहुँदा धेरै ठाउँहरुमा समस्या झेल्नु परेको बताइन् । उनले महिलाहरुले कानुनी अधिकारका बारेमा जानकारी लिदा अन्यायमा परेका महिलाहरुको समेत सहयोग गर्न सक्ने धारणा राखिन् ।