झापा । 

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा धान रोपी दहीच्युरा खाएर मनाउने गरिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खाने प्रचनल छ ।  असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि मनाइन्छ । 

शुभकार्यका लागि घरबाहिर निस्कने र महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने नोली परम्परा पनि छ । असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा कृषि हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।  औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको छ ।