झापा ।
झापाका अधिकांश स्थान जलमग्न भएको छ । सोमबार वेलुकाबाट परेको अबिरल बर्षाका कारण झापाका दक्षिण भेगका पालिकाहरु डुवानमा परेका छन् । अविरल बर्षाका कारण झापाका मेची, निन्दा, विरीङ, कनकाई, कमल, मावा, अदुवा, बनियानी, देउनियाँ, हडिया, घाग्रालगायतका खोलामा आएको बाढीका कारण सयौंको घर डुवानमा परेका छन् भने खोलामा पानी बहाव बढिरहेको र कटानसमेत शुरु भएको छ ।
वर्षाका कारण झापाका अधिकांश पालिका डुबान र जलमग्न बनेको छ । स्थानीय सरकारले डुबान तथा जलमग्न हुने स्थानको पहिचान गरी समयमै बजेट विनियोजन गरी तटबन्ध र ढल निकासको काम गरिदिए यस्ता समस्या समाधान हुने अधिकांश स्थानीयहरूको भनाई छ । डुबान र जलमग्नका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । स्थानीय सरकारले सडक ढल निकासको उचित व्यवस्थापन, पैनी तथा खोलामा तटबन्ध नगर्दा स्थानीय जोखिममा परेका हुन् ।
बाढी पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे, आसपास भारी वर्षा मापन गरेको छ । अहिले पनि झापामा भारी वर्षा भइरहेको छ । पैनी तथा खोलाको पानी घर आँगनमा पस्दा सदरमुकाम भद्रपुरका अधिकांश वडाहरू जलमग्न बनेको छ ।
भद्रपुर ८ मा २५ घरपरिवार विस्थापित भएको छन् । भद्रपुर ३, ४, ५ र ६ मा सयौँ घर डुबानमा परेको छ । मेची नदीमा पानीको बहाव बढिरहेकोले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ। देवीबस्ती, मेची किनार, बसपार्क, भानु चोक आसपासका दर्जनौँ घर जलमग्न भएको बताइएको छ ।
त्यस्तै गौरदाह ६ स्थित टंगुवा बस्तीमा २५ घर डुबानमा परेको छ । घर आँगनमा २ फिटसम्म पानी जमेपछि उनीहरूलाई सुरक्षित स्थान तर्फ सार्ने काम भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । मकलडुब्बा खोलाको पानी शिवसताक्षी ६ स्थित शिवगञ्जमा पस्दा जबरजंग दर्जी र मानबहादुर दर्जी, सञ्जय मल्लिक घर डुबानमा परेको छ । गौरीगञ्ज १ मा बनियानी खोलाले रणमाया लिम्बुको घर डुबानमा परेको छ । गौरीगञ्ज १ माई खोलाको पानी पस्दा बाकुबाँडीमा १५, देविगाडामा ५ र टापु बस्तीमा १२ घर डुबानमा परेको जनाइएको छ ।
गौरादहमा ६ मा रतुवा खोला पसेर तेलिया डाँगी टापुमा परिणत भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । उनका अनुसार शिवसताक्षी ३ र ५, कमल १ मा कमल र बनियानी खोला पसेको छ । शिवसताक्षीमा ६ मा ४० घर डुबानमा परेको छ । झापा १ मिलनबस्तीमा ९० घरमा पानी पसेको सभापति ढकालले जानकारी दिए ।
त्यसैगरी कमल गाउँपालिका–५ मा चाजुले टुक्रेको उत्तर क्षेत्र कटान शुरु, धनश्याम धिमाल र धनमाया तामाङको ब्यवसायिक दुई वटा सुगुर फर्म बगाएको, ६ र ७ परिवार जोखिममा रहेका छन् । रतुवा नदिले वडा नं. ५, ६ र ७ मा कटान शुरु गरेको, वडा नं. ६ को जनताको तटबन्धन अन्तरगत गैंडेले बाधेको बाध पनि कटान शुरु गरेको, कमल खोलाले केम्पा बजार पूर्व कमलपुल घाट उत्तर पुरानो बाध भत्काएपनि मानविय क्षति भने नभएको रेडक्रसले जनाएको छ । पालिका अध्यक्षसहित रेडक्रसको टोलीले कटान र डुवान क्षेत्रको अनुगमन गरिसकेको जनाइएको छ । त्यस्तै बाढीबाट कटान रोक्न कमल गाउँपालिकाका हरेक वडामा पाइलिङ निर्माणको काम भइरहेको बताइएको छ ।
खोलामा पानी बहाव बढिरहेकोले तटबन्ध नलगाएको तटीय क्षेत्र तीव्र रुपमा कटान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।