झापा  । 

अबिरल बर्षापछि विभिन्न खोलामा आएको बाढीले झापामा डुवान र कटान तिब्र पारेको छ । झापाका स्थानीय मेची, निन्दा, बिरिङ, कनकाई माई तथा रतुवा खोलामा आएको बाढीले नदी आसपासमा बसोबास गर्नेहरुलाई प्रभावित पारेको छ ।

नेपाल रेडक्रस सोसाईटीका सभापति लोकराज ढकालका अनुसार रतुवा खोलामा आएको बाढीले गौरादह नगरपालिका–६ तेलियाडाँगीमा टप्पु बनाएको छ । बाढी दुईतिरबाट बग्न थालेपछि सो गाउँ टप्पु बनेको हो ।

त्यसैगरी  गौरादह ४ र ५ मा ५० घर डुवानमा परेका छ। ढकालका अनुसार मेची खोलामा आएको बाढीबाट भद्रपुर नगरपालिका–८ मा २५ घर परिवार बिस्थापित भएकका छन् । यतिबेला शिबसताक्षी नगरपालिका–३ र ४ तथा कमल गाउँपालिका–१ मा कमल बनियानी खोला पसेको छ । कमल बनियानी खोलाले शिबसताक्षी नगरपालिका–६ मा ४० घर डुवानमा परेका छन् ।

झापा गाउँपालिका–१ मिलनबस्तीमा ९० घर डुवानमा परेको छ भने गौरिगञ्ज गाउँपालिका–१ मा ४ घर बिस्थापित भएको रेडक्रसले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

 सोमबार बेलुकादेखि परेको अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढीले करिब एक सय घर डुवानमा परेका छन् । बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ का ती घर डुवानमा परेको जनाइएको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको मानव बस्ती पुरै डुवानमा परेको छ । उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ । 

 मेची, निन्दा,बिरिङ, कनकाई,रतुवा लगायतका ठूला नदीमा पानीको सतह बढेको छ । यी नदीमा बाढी आउँदा भद्रपुर, काचनकावल, झापा, शिवसताक्षी, गौरिगन्ज, गौरादह र दमक नदीमा बाढी आउँदा बर्षेनी प्रभावित हुने गरेका छन् ।

नेपाल रेडक्रस झापाका अनुसार दर्जनौ मानव बस्तीहरु डुबानमा परेको खबर आएको छ । तर, कुन कुन ठाउँ डुबानमा परेका हुन् भन्ने यकिन छैन । विवरण संकलन हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ७ घण्टामा झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ । साथै थप वर्षा हुने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाले ठूला तथा साना नदीमा एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यता वडा नम्बर ४ को पाँचगाछी सन्थाल बस्ती पुरै डुवानमा परेको छ । स्थानीय बस्तिका अधिकांश बासिन्दालाई त्रिभुवन माध्यमिक विद्यालय सुरक्षाका लागि लगिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा बाढी पस्दा लाखौँ मूल्यबराबरको औषधि भिजेको छ । बाढी प्रभावित क्षेत्रहरुमा उद्दारका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशाशन कार्यालय झापाले जनाएको छ ।