झापा ।
झापाको अर्जुनधारा नगरपालिका–४ को ह्युम पाइपभित्र बोरामा एक पुरुषको शव भेटिएको छ । बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा अन्दाजी ३५–४५ बर्षको युवकको लाश आइतबार साँझ फेला परेको थियो । यो समाचार तयार पार्दासम्म शवको पहिचान भएको छैन । तीनदेखि चार दिन अगाडी हत्या भएको जस्तो देखिने शवको टाउकोमा भारी बस्तुले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शवको दुवै कुममा आरएन शब्दको ट्याटु खोपिएको, शरिरभरि बाक्लो रौँ भएको र फ्रेन्च कट दाह्री भएको, कालो रंगको ट्राउजर, फुल बाउला गुलाबी कलर सानो छिर्र्केमिर्के सर्ट लगाएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको प्रहरीले जनाएको छ ।
मृतकले पुरा बाहुला भएको हल्का गुलाबी रंगको कमिज र बाक्लो ट्राउजर लगाएको उनले बताए । दाह्री र शरिरमा भएको रौँ हेर्दा शव क्षेत्रीबाहुन समुदायको हुनसक्ने उनले जानकारी दिए । आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि धरान पठाइएको छ भने घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।