खोटाङ ।
खोटाङको बाराहपोखरी गाउँपालिका–५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा संकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भएसँगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–३ का २९ बर्षीय हरी भन्ने निरबहादुर खडका रहेका छन् । बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडी गली सकेको संकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुट्टा घर भई हाल इटहरी उप–महानगरपालिका–१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको खुलेसँगै हत्यामा संलग्न रहेका नाती निर बहादुर खडकालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
हजुरआमाको कर्तब्य गरी मारी भागी फरार रहेका खडकालाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपि बसिरहेको अवस्थामा असार ८ गते बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका खडकाले हजुरआमा तुलसा खडकालाई स्थानिय तहको निर्वाचनमा भोट हाल्न भनि बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिई गएकोमा बराहपोखरी–५ स्थित दुधकोशी नदीको बगरमा कर्तब्य गरी मारी खाल्डोमा पुरी भागी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका खडकाको कर्तब्य ज्यान सम्वन्धि कसुरमा जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।