भद्रपुर ।
देशकै सबैभन्दा होचो स्थान रहेको झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आज आयोजित दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।
‘दिगो सुशासन, पारदर्शी प्रशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको दिगो विकास, कचनकवलको अभियान’ भन्ने नाराका साथ गाउँपालिकाले सातवटा उद्देश्यसहित १२ वटा प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
गाउँसभामा वार्षिक नीत तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले कचनकवलवासीको आवश्यकता र चाहना बमोजिम प्राथमिकता क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिए । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, वन संरक्षण, खेलकुद, पर्यापर्यटनलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।
प्रदेश नं १ का भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीले गाउँसभाको उद्घाटनगरेका थिए । उनले कृषिको विकासले समृद्धि हासिल गर्न सकिने भन्दै कचनकवलले कृषिलाई प्राथमिकतामा राखेकोमा प्रशंसा गरे । प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेतले स्वागत र योजना प्रमुख केशव मैनालीले स्वागत गरेको गाउँसभामा प्रदेश सांसद वसन्त वानियाँ, नेपाली कांग्रेस गाउँ सभापति तुलाराम अधिकारी, नेकपा एमाले गाउँ उपाध्यक्ष चेतराज भट्टराईलगायतले नीत तथा कार्यक्रमको प्रशंसा गर्दै पूर्ण कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका छन् ।