काठमाडौं ।
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको तालिबान सरकारका अधिकारीहरूले बताएका छन्।
पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिइरहँदा तालिबानले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेको छ। गएराति स्थानीय समय अनुसार १ः३० बजे भूकम्प गएको थियो।
उद्धारकर्ताहरू त्यहाँ घाइतेको उपचारमा दौडधुप गरिरहेका छन्। यसअघि सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूबाट घाइते ओसारिएको देखिएको थियो। दुर्गम स्थानहरूमा हेलिकप्टर प्रयोग गरेर घाइतेहरूलाई अस्पताल लगिएको छ।
तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्। यसअघि विपद् व्यवस्थापन हेर्ने उनका सहायक मन्त्री शरफुद्दिन मुस्लिमले एउटा प्रेस सम्मेलनमा कम्तीमा ९२० जनाको मृत्यु भएको र थप ६०० जना घाइते भएको बताएका थिए। भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त शहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ।
अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर भित्र गएको थियो। तालिबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलस्थित युनिसेफ कार्यालयका एक अधिकारीले बीबीसीलाई बताएका छन्।
यस्तै पोखरामा पनि आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।