बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघले पक्राउ गरिएका अध्यक्ष, उपाध्यक्षसहित सवै ब्यवसायीलाई बिना शर्त  रिहा गर्न माग गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सवैलाई बिना शर्त तुरुन्त रिहा गर्न संघका महासचिव अर्जुन मैनाली र जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै  माग गरेका हुन् । 

संघले व्यवसायीको पक्षमा माग राख्दा प्रहरीले संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सह–कोषाध्यक्ष राधिका चुडाल हुमागाईसहित ११ जना ब्यवसायीलाई पक्राउ गरेको बिज्ञप्तीमा जनाइएको छ । 

अध्यक्ष, उपाध्यक्ष र सह–कोषाध्यक्षसहित केही व्यवसायीहरुलाई पक्राउ गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ । व्यवसायीले विद्युत मिटर माग्दा त्यसलाई सम्वाद र सहमतिको तर्फबाट निराकरण गर्नुको साटो प्रहरी प्रशासनले धरपकड गरेर निन्दनीय कार्य गरेको बिज्ञप्तीमा छ । बुधबारे हटियाका व्यवसायीलाई विद्युत मिटर उपलब्ध गराएर व्यवसायीका मागलाई सम्बोधन गर्न स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवाला निकायलाई बिज्ञप्तीमा आग्रह समेत गरिएको छ । 

पक्राउ परेका सबैलाई तत्काल रिहा नगरे आन्दोलन थप सशक्त बनाउने बुधवार बसेको आकस्मिक बैठकले निर्णय गरेको छ। पक्राउ पर्नेमा अध्यक्ष शिवकोटी, वरिष्ठ उपाध्यक्ष न्यौपाने, सह–कोषाध्यक्ष हुमागाई, व्यवसायीहरु सन्तोष उप्रेती, कल्पना पुरी न्यौपाने, संगिता न्यौपाने, कल्पना खरेल निरौला, नरबहादुर बि.क., एकता कडरिया बिष्ट, तुलसा तामाङ र निरु अधिकारी रहेका छन् ।