बिर्तामोड ।
बिर्तामोडस्थित कृषिथोक बजारका ६५ जना व्यवसायीलाई विद्युत् मिटरका लागि नगरपालिकाले सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग बाणिज्य संघको अगुवाईमा ब्यवसायीहरु आन्दोलित भएका छन् ।
उनीहरुले हिजो आइतवार बिर्तामोड नगरपालिकामा बिद्युत मिटर नदिएको भन्दै विरोध प्रदर्शन गरेका छन् भने आज पनि नगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
बिद्युत मिटरका लागि नगरपालिकालाई सिफारिस दिन आग्रह गर्दा नदिएको भन्दै व्यवसायीले विरोध प्रदर्शन गर्न बाध्य भएको संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताएका छन् । नगरपालिकाले सिफारिस नदिदा ब्यवसायीहरु अन्धकारमा बस्न बाध्य भएको बताइएको छ । सिफारिस माग्दा नगरले अनेक वहाना बाजी गरेको भन्दै बाणिज्य संघ त्यसबिरुद्ध कडा रुपमा प्रस्तुत भएको अध्यक्ष शिवाकोटीले बताए ।
उनले कृषिथोक बजारको बिकासका लागि आफूहरु सदैव सकारात्मक रहे पनि नगरपालिकाले व्यवसायीलाई हेपाहा प्रबृत्ति देखाएको आरोप लगाए ।
संघको तर्फबाट नगरपालिकालाई पटक–पटक ध्यानाकर्षण गराए पनि निश्चित स्वार्थ राखेका कारण विद्युत् मिटरको सिफारिस दिन आनाकानी गरेको वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आरोप समेत लगाएका छन् ।