बिर्तामोड ।
बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
शनिबार शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकमको चेक प्रदान गरेका हुन् । खनाल दम्पत्तिले गत फागुन २४ गते आफ्नो विवाहको ६० औं वर्षगाँठ समारोहमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गरेका थिए ।
खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । खनालले ३२ वर्ष निजामति सेवामा रही अवकासपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए । पूर्वमै पहिलो पटक गोमेन्द्रमा पत्रकारिता विषयको अध्ययन अध्यापन समेत सुरु भएको थियो । खनालका तीन छोरा दीपक अष्ट्रेलिया तथा रुपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।
सहयोग हस्तान्तरण समारोहमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौला, पत्रकार सन्तोष न्यौपानेलगायतको सहभागिता थियो । त्यस्तै गणेशप्रसाद–बुध खनालका छोरा बुहारी रुपक–सरु खनाल, उत्तम–गीता खनाल लगायत खनाल परिवारको सहभागिता थियो । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।
कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ६० लाख रुपैयाँ रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।