बिर्तामोड ।
बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना एमपिडीपी दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी शुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको गोष्ठीमा नगरप्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो गोष्ठीमा बिर्तामोड नगरपालिकालाई अब कस्तो बनाउने भन्ने विषयमा छलफल गरि योजना तयार पार्ने बताइन । पहिलो एक वर्षमा गर्न सक्ने कामलाई वर्गीकरण गरेर ५ वर्षको खाका तयार पार्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, भौतिक पूर्वाधार, वैज्ञानिक कर प्रणाली, वन तथा वातावरणको संरक्षण, फोहोर व्यवस्थापन, श्रोत परिचालन लगायतका विषयमा आवधिक योजना निर्माण गरिने बताइन् । नगरप्रमुख प्रसाईले विज्ञहरुले दिएको महत्वका विषयवस्तु र सुझावलाई ग्रहण गर्दै गोष्ठीमा ध्यान दिन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।
यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कार्यशाला गोष्ठीमा बिर्तामोडको समृद्वि र विकाससंग जोडिएका विषयमा छलफल गरि योजना तयार गरिने बताए । उनले बिर्तामोडलाई भ्रष्टाचार रहित नगरका रुपमा परिचित गराउने बताए । आफु भ्रष्टाचार विरोधी भएको जनाउँदै उपप्रमुख संग्रौलाले आफु पनि नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिवद्वता दोहोर्याए ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले बिर्तामोड नेपालकै महत्व राख्ने आर्थिक, सामाजिक र राजनीतिक महत्वपुर्ण नगर रहेको बताएका छन् । पहाडी जिल्लामा उत्पादन हुने कृषि जन्य सामाग्री तथा जडबुटीहरु आउने गरेको बताउँदै उनले बिर्तामोड भारत, बंगलबादेश, भुटान, पाकीस्तान, चीन लगायतका देशहरुको ट्रान्जीट प्वाइन्टको रुपमा रहेको बताए । नगर कमिटी अध्यक्ष भट्टराईले २० वर्षपछि हेर्दा पनि गर्व गर्न लायक गुरुयोजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे। यस्तै राप्रपा नगर कमिटी अध्यक्ष रञ्जु प्याकुरेलले जनताले प्रत्यक्षरुपमा अनुभव गर्न पाउने गरिको गुरुयोजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, मौलिक जरोकिलो लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।
नगरको विकासमा दीर्घकालिन योजना निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको गोष्ठी असार ३ गतेसम्म चल्ने छ । गोष्ठीमा आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वातावरण विकास तथा फाहोर व्यवस्थापन, संस्थागत विकास तथा सुशासनका विषयमा विभिन्न ५ वटा समुह बनाएर छलफल गरिदैछ । पथ–वे नेपाल सुनसरीको सहयोगमा आयोजना गरीएको यस गोष्ठीलाई विज्ञ तारा निरौलाले सहजिकरण गरिरहेका छन् ।