धुलाबारी ।

मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्तसम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो ।

‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले भने–‘आज अर्थात असार १ गतेदेखि भदौ मसान्तसम्म लागु हुनेछ ।’

सार्वजनिक सूचनालाई जो कोहिले उल्लंघन गरेर खोलाबाट निर्माण सामाग्री झिकेको थाहा पाए कानुनी कारवाही हुने उपप्रमुख तथा अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश दाहालले असार १ गतेदेखि तीन महिना लागु हुने गरी जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेका छन् । सरकारले देशभर असार १ गतेदेखि तीन महिना नदिजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ ।