सुरुङ्गा ।
झापाको कनकाई नगरका समाजसेबीे चिरञ्जीवी उप्रेती र श्रीमती इश्वरादेवी उप्रेतीले तीस लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । प्रत्येक बर्ष चार विधामा उत्कृष्ट व्यक्तित्वलाई पुरस्कृत गर्ने उद्धेश्यले उप्रेती परिवारले चिरज्जीवी–इश्वरादेवी अक्षयकोष स्थापना गरेका हुन् ।
उप्रेती परिवारले कनकाई नगरपालिका वडा नं. ६ मा शनिबार (आज) पत्रकार भेटघाटको आयोजना गर्दै अक्षयकोषको घोषणा गरेका हुन् । कोषको रकमबाट कनकाई नगरक्षेत्रभित्रको सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरी कक्षा १२ उत्तीर्ण गर्ने एक जना विद्यार्थी, भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यक्षेत्रभित्र बसोबास गरेका एक जना असल बुहारी, कनकाई नगरपालिका भित्रका एक जना उत्कृष्ट कृषक र झापा जिल्ला भित्र रहेर पत्रकारितामा उत्कृष्ट योगदान गर्ने एक जना पत्रकारलाई जनही ५१ हजार रुपैयाँका दरले पुरस्कृत गरिने कोषका अध्यक्ष एकराज उप्रेतीले बताए ।
हरेक बर्ष भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभाका दिन पुरस्कार वितरण गरिने कोषका अध्यक्ष उप्रेतीले जानकारी दिए ।
कोषको प्रमुख संरक्षक चिरञ्जीवी तथा संरक्षक इश्वरादेवी उप्रेती र भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रहेका छन् । एकराज उप्रेतीको अध्यक्षतामा सदस्यहरु सुवासचन्द्र उप्रेती, कल्पना उप्रेती, डा. आयुष उप्रेती, हरि शिवाकोटी, बालकृष्ण सिटौला र सदस्य सचिव भरतकुमार थपलिया रहेको कोष व्यवस्थापन समिति रहेको छ ।
कोषका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य तथा उपप्रमुख आशा शर्मा शिवाकोटीको बिशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पोखरेल, उपप्रमुख तथा विशिष्ट अतिथि शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, कनकाई वडा नं. ६ का वडाअध्यक्ष दीर्घबहादुर थापालगायतले पहिलादेखि नै सामाजिक कार्यमा संलग्न रहँदै आएको बताउँदै ८९ बर्षको उमेरमा हाल अक्षयकोष स्थापना गरेर समाजमा सामाजिक सेवाको उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा समेत गरे ।
सोही कार्यक्रमकाबिच चिरज्जीवी तथा उप्रेती परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एकलाख एकहजार रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम महासंघका झापा अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईलाई चिरज्जीवी उप्रेतीले हस्तान्तरण गरेका हुन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी राम निरौलाले गरेका थिए ।