बिर्तामोड । 

बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १ को किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गरेका हुन् । 

वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विवाह दर्ता र वसाईसराईको निस्सा वितरण गरीएको थियो । चन्द्रप्रसाद ढकाल र निशा खड्काको विवाह दर्ता र ओमबहादुर लिम्बुको वसाईसराईको सूचना फारमको निस्सा प्रमुख प्रशासकिय अधिकृत न्यौपाने र वडाध्यक्ष पाण्डेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले राज्यले आफ्ना नागरिकहरुको अवस्था बुझ्न र अभिलेख राख्नका लागि यो दर्ता शिविरको आयोजना गरेकोले आवश्यक सबैले लाभलिन आग्रह गरे । आफ्ना घर गाउँमै अभियान आएकोले आफु गर्न र अरुलाई पनि खबर गर्न आवश्यक रहेको भन्दै उनले कोहि पनि सेवाबाट छुट्न नहुनेमा जोड दिए ।  यस्तै कार्यक्रममा वडाध्यक्ष अग्निप्रसाद पाण्डेले उपलव्धीमुलक अभियानकारुपमा शिविरको आयोजना गरीएकोले सबैले घटना दर्ता गर्न आग्रह गरे ।

शिविरमा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भक्ता दर्ता र गुनासो समेत दर्ता गर्न सकिने छ । शिविर असार १५ गतेसम्म तालिका अनुसार नगरका सबै वडामा सञ्चालन हुनेछ । प्रत्येक वडाका विभिन्न स्थानमा ३ दिनसम्म शिविर सञ्चालन हुने र वडा नम्बर १ मा जेष्ठ २५, २६ र २७ गतेसम्म अतिथि सदन, सूर्यनगर कालि मन्दिर र किरात याक्थुङ चुम्लुङको कार्यालयमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।