- उद्धव पुरी
शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दर्ता शिविर सञ्चलान भइरहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गर्ने उदेश्यले दर्ता शिविर सञ्चालन गरेको हो ।
दर्ता शिविरमा ब्यक्तिगत घटना दर्ताको निवेदन संकलन, रुजु तथा प्रमाणपत्र जारी, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको निवेदन संकलन, लगत कट्टालगायतका कार्य र ब्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धि गुनासो व्यवस्थापन गर्ने कार्य भइरहेको नगरका सूचना प्रबिधि अधिकृत गणेश अधिकारीले बताएका छन् ।
अधिकारीले दिएको जानकारी अनुसार नगरका १, २ र ३ नम्बर वडामा दर्ता शिविर सम्पन्न भएको छ । जस अन्तरगत वडामा बिभिन्न शिवरमा गरेर वडा नं. १ मा ४ वटा, वडा नं. २ मा ३ वटा र वडा नं. ३ मा १२ वटा ब्यक्तिगत तथा सामाजिक सुरक्षा दर्ता शिविरमा घटना दर्ता भएका छन् ।
तीनवटा वडामा १९ वटा ब्यक्तिगत तथा सामाजिक घटना दर्ता भएका छन् । दर्ता शिविरमा जन्म दर्ता १३ वटा, बिबाह दर्ता १, बसाईँसराईँ १ र समाजिक सुरक्षा अन्तरगतका ४ वटा घटना दर्ता भएको सूचना प्रबिधि अधिकृत अधिकारीले जानकारी दिएका छन् । वडा नं. ४, ५ र ६ मा भोली (बिहीवार) देखि दर्ता शिविर सञ्चालन गरिने बताउँदै अधिकारीले अन्य वडामा पनि क्रमश दर्ता शिविर सञ्चालन गरिदै लगेर असार मसान्तसम्ममा नगरका ११ वटै वडामा सम्पन्न गर्ने बताए ।
दर्ता शिविरमा ब्यक्तिगत घटना अन्तरगत जन्म, मृत्यु, बिबाह, सम्बन्ध बिच्छेद, बसाईँसराईँ र सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत जेष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जाती, बालबालिका र असक्त÷अपाङ्गता भएका ब्यक्तिहरुको विवरण दर्ता गरिने जनाइएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्यको निवेदन संकलन गरी प्रणालीमा प्रविष्टि गर्ने, भत्ता सम्बन्धी गुनासो दर्ता तथा सम्बोधन गर्ने, जोखिममा रहेका ब्यक्तिको पहुँच अभिबृद्धि गर्ने अभियानको उदेश्य रहेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र चौधरीले दर्ता शिविरबाट ३ हजार ४ सय २९ संख्या दर्ता हुने अनुमान गरिएको बताए ।
शिवसताक्षी नगरको वडा नं. १ र ३ मा जेठ १९ देखि २४ गते, वडा नं. २ मा जेठ २० देखि २५ र वडा नं. ४, ५ र ६ मा २६ देखि ३१ गतेसम्म दर्ता शिविर सञ्चालन हुने अधिकारीले बताए । त्यस्तै अन्य वडाहरुमा पनि क्रमश दर्ता शिविर सञ्चालन गरेर असार मसान्तसम्ममा सम्पन्न हुने उनको भनाई छ ।
नागरिकलाई घरदैलो नजिक सेवा प्रदान गर्ने उदेश्यले नेपाल सरकारले दर्ता शिविर सञ्चालमा ल्याएको हो । विश्व बैंकको सहयोगमा बिभागद्धारा सञ्चालित सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तरगत आर्थिक बर्ष २०७८÷०७९ को स्वीकृत बजेट अनुसार देशका ७५३ वटै स्थानीय तहलाई बजेट ब्यवस्थापन भएको छ ।