बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमखहरुसँग शुक्रवार छलफल गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल गरेका हुन् ।
कार्यक्रममा नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापा, नेपाल विद्युत प्राधिकरण अनारमनिका प्रमुख सुधिरकुमार राय, इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगु, जिल्ला साकोस संघका सचिव यामकुमार चुँडाललगायतले आ–आफ्नो क्षेत्रका समस्या र सुझाव दिएका थिए ।
समस्या छलफलमा कृषि सामाग्री कम्पनी, साल्ड ट्रेडिङ, प्यावसन, एन प्यावसन, मेची यातायात व्यवस्था कार्यालय लगायतका प्रमुख, प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
छलफलमा सहभागिहरुलाई धन्यवाद दिँदै नगरप्रमुख प्रसाईले समस्या समाधानका लागि नगरपालिका गम्भिर रहेको बताइन् । उनले सरोकारवालाहरुको उपयुक्त सल्लाह सुझावका आधारमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिने बताइन् ।