झापा ।
संघीय सरकारले झापाका १५ वटा स्थानीय तहलाई सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन गरेको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९÷०८० का लागि झापाका आठ नगरपालिका र सात गाउँपालिकालाई बजेट विनियोजित गरेको हो ।
संघीय सरकारको बजेट अनुसार जिल्लाका आठ नगरपालिकालाई चार अर्ब ९६ करोड चार लाख र सात गाउँपालिकालाई दुई अर्ब ६२ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भौगोलिक र जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी र ८३ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नगरपालिकामा सबैभन्दा थोरै अर्थात् ३५ करोड ७६ लाख कनकाई नगरपालिकामा विनियोजित भएको छ ।
यसैगरी अर्जुनधारा नगरपालिकाको ४९ करोड ४२ लाख, गौरादहलाई ५० करोड ९७ लाख, दमकलाई ७१ करोड ५१ लाख, बिर्तामोडका लागि ७० करोड ७९ लाख, भद्रपुरका लागि ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाका लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।
सात गाउँपालिकामध्ये सबैभन्दा बढी रकम कमल गाउँपालिकालाई परेको छ । कमललाई ४७ करोड, २४ लाख विनियोजन भएको छ । कचनकवलका लागि ३८ करोड ३६ लाख, हल्दीबारीका लागि ३० करोड ९९ लाख, गौरीगञ्जका लागि ३२ करोड ६९ लाख, झापाका लागि ३७ करोड छ लाख, बाह्रदशीका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ती गाउँपालिकाका लागि रु ३९ करोड १५ लाख रकम बजेट विनियोजन भएको छ ।