बिर्तामोड ।
हाल जर्मनीको हेम्बर्गमा रहेका झापा कनकाई–१ प्रजापतिका गायत्रीनाथ गिरीले आफ्नो जन्मोत्सव बिर्तामोडस्थित बृद्धाश्रममा मनाएका छन् ।
बुधवार जन्मोत्सवको अवसर पारी गिरीको सहयोगमा बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका ३० जना बृद्धबृद्धालाई खाना खुवाउनुका साथै फलफूल लगायतका खाद्य सामग्री प्रदान गरिएको छ ।
गिरी रोजगारीको क्रममा जर्मनीमा रहे पनि उनकी माता देवकुमारी गिरीसहित परिवारका सदस्यहरुले बृद्धाश्रम पुगेर बृद्धबृद्धालाई खाना खुवाउनुका साथै सहयोग हस्तान्तरण गरेका हुन् । उनले हरेक बर्ष आफ्नो जन्मोत्सव परोपकारी काममा सहयोग गरेर मनाउँदै आएका छन् ।
जन्मोत्सवमा परोपकारी काम गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने र बृद्धबृद्धा तथा विपन्नहरुलाई सहयोग गर्न अरु मानिस पनि प्रेरित होउन् भनेर सहयोग गरेको गिरीले बताएका छन् ।