बिर्तामोड ।

 बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा आज(मंगलबार) निर्वाचित सदस्यहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले सपथ ग्रहण गराएकी हुन् ।  

कार्यपालिका सदस्यमा निर्वाचित हुने हरुमा यमुना देवी आचार्य, तिला गौतम, निर्मलादेवि सुनार, लक्षिमा खतिवडा, संगीता सिवा, सिता ढुङ्गाना वि.क, शर्मिला राजवंशी र जगतवन्धु राजवंशीरहेका छन् ।  सपथग्रहण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । 

सपथग्रहणपछि कार्यपालिकाको बैठक समेत बसेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम लगायतका विभिन्न विषयमा छलफल भएको थियो । 

बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जेठ १९ र २० गते पञ्जिकरण सहितको २ दिने अभिमुखिकरण तालिमको आयोजना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वडा नम्बर ३,४,५ र ६ मा पर्ने हर्कलाल सडक मार्ग सडक, वडा नम्बर ५ को कन्काई मार्ग सडक, वडा नम्बर ९ मा पर्ने शहिदचन्द्र मार्ग सडक, वडा नम्बर ४मा पर्ने विद्युत प्राधिकरण दक्षिण नेकपा एमालेको पार्टी कार्यालय हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने सडक, वडा नम्बर ७ को गरामनी बजार उत्तर भुसावाडी जोड्ने सडक, वडा नम्बर १ को नचानुटोल हुँदै बैँसावाडी ठाकुर मन्दिर जाने सडक र घाग्रा, देउनिया, अदुवा खोला कटान नियन्त्रण योजनाहरुका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । 

यस्तै बैठकले नगरपालिका क्षेत्रभित्रका अति आवश्यकिय स्थानमा सडक मर्मत तथा स्तरोन्नति गर्न आवश्यक भएका कारण ग्राभेलको व्यवस्था गर्न नगरप्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको छ । जनप्रतिनिधिहरु नव निर्वाचित भएपछिको यो दोस्रो कार्यपालिका बैठक हो । यस अघि जेठ ११ गते पहिलो बेठक सम्पन्न भएको थियो ।