बिराटनगर ।
मोरङको बिराटनगर महानगरपालिका–१५ र तेह्रथुमको लालीगुँरास नगरपालिका–२ बाट प्रतिवन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर–१५ मा लागू औषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउँदै गरेका इटहरी–६ सुनसरीका २० बर्षीय आस्मिक कार्कीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४२ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
यसैगरी सोमवार (आज) बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरको प्रहरी गस्ती टोलीले बसन्तपुर बजारमा शंकास्पद अवस्थामा हिडिरहेका स्थानिय २४ बर्षीय जोसेफ गुरुङले बोकेको झोला चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
प्रतिवन्धित लागूऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।