मोरङ । मोरङको कटहरी गाउँपालिका –२ आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको हत्याको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–१ का ३३ बर्षीय रविन भुजेल, कटहरी गाउँपालिका –१ कै २९ बर्षीय कपिल माझी र कटहरी गाउँपालिका –३ का २८ बर्षीय नितेश चौधरी रहेका छन् ।

आइतवार (आज)  मोरङ कटहरी गाउँपालिका –१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अबस्थामा भेटिए ।  वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप  अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले  घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सुक्ष्म रुपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको प्रहेश प्रहरीले जानकारी दिएको छ।