झापा ।

वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरेको छ ।लेडी जेसीज वर्ष २०२१ को मानार्थ सदस्यसमेत रहेकी नगरप्रमुख प्रसाईलाई शुक्रवार सम्मान गरिएको हो ।

 झापा जिल्लाकै पहिलो महिला मेयर प्रसाईलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य, नेपाली कांग्रेसका नेता गोपालकुमार बस्नेत र वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । 

सम्मान ग्रहणपछि कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले आफुले पाएको जिम्मेवारी महत्वपुर्ण ढंगले निर्वाह गर्ने प्रतिवद्वता जनाइन् । उनले अग्रज, समाजसेवी, सरोकारवालाहरुको सकरात्मक सल्लाह सुझाव र सहयोगले मात्रै नगरलाई उत्कृष्ट बनाउन सकिने भन्दै सबैसँग अपेक्षा गरेको धारणा ब्यक्त गरिन् । नगरप्रमुख प्रसाईले विकास निर्माण र न्यायका क्षेत्रमा कुनै पनि विभेद नहुने पनि बताइन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले उपप्रमुखमा रहँदा विवाद रहित ढंगले कार्यकाल सम्पन्न गरेकी प्रसाईलाई नगर प्रमुखको रुपमा पाउनु नगरको गौरव र भाग्यको कुरा भएको भन्दै प्रशंसा गरे । नगरप्रमुख प्रसाईको धैर्यताका साथ सबैको कुरा सुन्ने र सबैलाई सम्मान व्यवहार गर्ने बानी रहेको भन्दै उहाँले कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

सोही कार्यक्रमका विच वीरता लेडी जेसीजको संस्थापक सदस्य कल्पना भण्डारी, दमयन्ता दाहाल र शिला ढकाललाई पनि सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरीएको छ । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष मदनगोपाल सुव्वा, नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, वीरता जेसीजका अध्यक्ष प्रविण खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए । 

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत संस्थाकी वर्ष २०२२ कि कानुनी सल्लाहकार हिमा पौडेलले गरेकी थिइन् ।  संस्थाकी निवर्तमान अध्यक्ष स्वास्तिका आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने जेसी विमला भट्टराईले आस्थावाचन र संस्थाकी कार्यकारीणी उपाध्यक्ष झुमा भट्टराईले मिसन भिजन प्रस्तुत गरेकी थिइन् ।