बिर्तामोड ।
नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापाले अर्जुनधारा नगरपालिका वडा नं–६ मा सञ्चालित बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ ।
केन्द्रमा अध्ययनरत बालबालिकाका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
युनियन झापा जिल्ला अध्यक्ष ईन्दु पुर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्रीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत प्रदेश पार्सद ज्ञानेन्द्र निरौलाले गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गगरेका थिए ।
शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु उक्त केन्द्रमा संरक्षित छन् । आबासीय रुपमा रहेका १० बढी बालबालिकालाई सोही केन्द्रमा शिक्षक ब्यवस्थापन गरेर अध्यापन गराइदै आएको छ । सार्वजनिक एवं निजी विद्यालयहरुमा अपाङ्गमैत्री संरचना नहुँदा शारीरिक रुपमा अपाङ्गता भएपनि बौद्धिक रुपमा सबल बालबालिकाहरु शिक्षा लिनबाट बञ्चित हुने देखिएपछि आफूले त्यसैका लागि पहल थालेको अध्यक्ष कृष्ण दुलालले बताए।
अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोक नजिकै रहेको सो केन्द्रको ब्यवस्थित सञ्चालनका लागि जग्गाको अभाव रहेको ब्यवस्थापन समितिका अध्यक्ष दुलालको भनाई छ । अपाङ्गमैत्री संरचना निर्माणको लक्ष रहेपनि जग्गा अभावका कारण नसकिएको र दीर्घकालीन सञ्चालनको स्रोत नभएको दुलालले बताए ।