झापा ।
१ नं. प्रदेश सुरक्षा समितिले झापा जिल्लाको अनुगमन गरेको छ । प्रदेश प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीले झापा जिल्ला अन्तर्गत कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका क्षेत्रका अति संबेदनशील मतदान स्थल तथा मतगण नास्थलहरुको स्थलगत अनुगमन गरेको हो ।
आन्तरिक मामिला मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्रनामनि अरुणकुमार बिसी, सप्रनामनि कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक, नेपाली सेना २ नं. बाहिनी ईटहरीका निमित्त बाहिनि पति समेतको टोलीले अनुगमन गरेसँगै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न भएको छ ।
उक्त छलफल कार्यक्रममा प्रदेश प्रमुख सचिवले सबै सुरक्षा निकायहरुले सामुहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निश्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन आ–आफ्नो स्थानबाट उत्कृष्ठ कार्य सम्पादन गर्न निर्देशन दिइएको थियो ।