दमक ।
नेकपा एमालेको तर्फबाट दमक वडा नं–७ को खुल्ला वडा सदस्यका उम्मेद्वार बनेका गुमानसिंह तामाङले उम्मेद्वारी एवं पार्टी परित्याग गरी गठबन्धन दललाई सघाउने घोषणा गरेका छन् ।
गठबन्धन दलका केन्द्रीय नेता एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सहभागी गठबन्धन दलद्वारा दमकमा आयोजित चुनावी सभामा एक विज्ञप्ति जारी गर्दै तामाङले उक्त घोषणा गरेका हुन् । उनले आफ्नो विज्ञप्ति आफैं पढेर गठबन्धन दललाई सघाउने उद्घोष गरेका थिए । उक्त उद्घोष गरिरहँदा तालीको गडगडाहटले सहभागी गठबन्धन दलका कार्यकर्ताले तामाङलाई स्वागत गरेका थिए ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धन दलको घरदैलो कार्यक्रममा वडाबासीको सद्भाव तथा समर्थन एवम् नगर प्रमुख पदका उम्मेद्वार राम थापा र उपप्रमुखका उम्मेद्वार रेगिना भट्टराई प्रसाई, एवं ७ नं वडाध्यक्षका उम्मेद्वार भीम पौडेलको पक्षमा नगरबासीको ब्यापक जनसमर्थन देखिएकोले आफूले पनि गठबन्धनलाई नै सघाउने निर्णयमा पुगेको र आजैका मितिबाट खुल्ला सदस्य पदको उम्मेद्वारी त्याग गरेको उल्लेख छ ।
आजैका मितिदेखि संयुक्त गठबन्धनको चुनावी सभा एवं कार्यक्रममा सहभागी हुने जनाइएको विज्ञप्तिमा एमालेको साधारण सदस्यता त्याग गरेको पनि तामाङले जनाएका छन् । विज्ञप्तिमार्फत आम मतदातामा गठबन्धन दलको पक्षमा मतदान गर्न आह्वान गरिएको छ ।