मेचीनगर । 

मेचीनगरको दश वटा वडामा नेकपा एमालेको चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । शुक्रबार एमालेका मेयर, उपमेयर पदका उम्मेद्वार सहितको घरदैलो अभियान अन्तरगत मेचीनगर–११ र १२ नम्बर वडासहित दश वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

मेचीनगर–११ को दुर्गा मन्दिरको कोजा वस्ती, आरती चोक, किसान वस्ती, तित्रेडाँगी चोक लगायतका ठाउँमा घरदैलो सम्पन्न भएको छ । वडाध्यक्षका प्रत्यासी उम्मेद्वार रुद्र डाँगी तथा वडा सदस्यहरु विष्णुमाया गौतम, रन्जिता सुन्दास (नेपाली), शक्ति थेवे र श्याम शिवाकोटी उम्मेद्वारको रुपमा छन् । रन्जिता सुन्दास (नेपाली) एमालेबाट वडा सदस्यमा निर्विरोध निर्वाचित भईसकेकी छन् । उनले मेचीनगरमा एमालेबाट पहिलो खाता खोलेकी थिइन् ।

त्यस्तै मेचीनगर–१२ को डाडा गाँउ, फाइटर चोक, नयाँ वस्ती, धाइजन चोक,  काली झोडाको सट्टाभर्ना चोक लगायतका ठाउँमा घरदैलो सम्पन्न भएको छ । वडाध्यक्षका प्रत्यासी उम्मेद्वार मधुसुदन निरौला तथा वडा सदस्यहरु कृष्णमाया बराइली, मिना लामा, मनोज खरेल र विशुलाल मेचे उम्मेद्वारको रुपमा छन् ।

घरदैलो कार्यक्रममा मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी, उपमेयरकी उम्मेद्वार मिना पोखरेल उप्रेती, ११ नम्बर वडाध्यक्षका उम्मेद्वार डाँगी, १२ नम्बर वडाध्यक्षका उम्मेद्वार निरौला, एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, भीम खवास लगायतले झोडाको समस्या, अर्जुनधारा र मेचीनगरको सीमाको विवाद, विजुली, पानी, नागरिकता, सडक, पोल लगायतका विषयमा जनताले थुप्रै समस्याहरु उम्मेद्वारलाई राखेका थिए ।

 यसअघि मेचीनगर–१५, १४, १३, १०, ९, ८, ७ र ५ नम्बर वडामा मेयर, उपमेयर पदका उम्मेद्वार सहितको घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । वडामा भने वडाध्यक्ष तथा वडा सदस्यहरुको घरदैलो अभियान भने जारी रहेको निर्वाचन परिचालन कमिटीका संयोजक रविन कोइरालाले जानकारी दिए । अब मेचीनगर–६, ४, ३, २ र १ नम्बर वडामा घरदैलो अभियान बाँकी रहेको संयोजक कोइरालाले बताए ।