भोजपुर । 

भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जलेर मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जलेर घाईते भएका छन् । 

हिजो  बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भएर घर पुर्ण रुपमा जलेर नष्ट हुँदा  उनीहरुकी २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जले घटनस्थलमै  मृत्यु भएको हो । 

घरधनी खेममणी तामाङ, उनकी श्रीमती  मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको  सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो ।

आगलागीबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । घटना सम्बन्धको बिषयमा थप अनुसन्धान तथा  कानुनि प्रकृया भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।