ईलाम ।
मृत फेला परेकी ईलाम नगरपालिका–८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका–८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो ।
शव फेला परे संगै अनुसन्धानको क्रममा रिमालसँग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुलेसँगै उनलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमाले उक्त घटना आफैले घटाएको भनी बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी देउमाई नगरपालिका–७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका–७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र उनकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरुले कोरोनाको खोप लगाएर घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको खुलेसँगै दुबै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।