बिर्तामोड ।
नेकपा एमालेबाट बिर्तामोडको नगरप्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईले नगरभित्र निर्माण भएका सबै जेष्ट नागरिक भवन, चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताएकी छिन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचार अभियानका क्रममा विर्तामोड २मा आयोजना गरीएको कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुखको उम्मेदवार प्रसाईले यस्तो बताएकी हुन् । उनले भौतिक पुर्वाधार,सडक,स्वास्थ्य,शिक्षा,कृषि,पशुपालन,पर्यटन र खेलकुद क्षेत्रको थप विकासका लागि विभिन्न योजना रहेकोले यसलाई व्यवस्थित ढंगले अघि बढ्ने बताइन् । उम्मेद्वार प्रसाईले महिला उद्यमशिलता, युवा स्वरोजगार,नगरपालिका भित्र रिङ्ग रोडको अवधारणा लगायतका दर्जनौ योजनाहरु रहेकोले फेरि पनि एमालेलाई जिताउन मतदातालाई आग्रह गरिन् ।
बिर्तामोड नगरपालिकाले विगत पाँच वर्षको अवधिमा ५०६ वटा विपन्न आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको र बाँकी रहेका हरुलाई अब व्यवस्थापन गर्ने बताइन् ।
यस्तै कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुख पदका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा पुर्णरुपमा निशुल्क भनेर उल्लेख गरीएको र यसलाई कायान्वयन गर्ने बताए । अवको ५ वर्ष भित्रमा १२५ किलोमिटर सडक कालो पत्रे गर्ने, बिर्तामोड र चारपानेमा सार्वजनिक शौचालय निर्माण गर्ने समेत उनले बताए ।
यस्तै वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार किशोर पौडेलले आफ्नो वडामा उत्तरबाट आउने पानीको प्रमुख समस्या रहेकोले यसको व्यवस्थापनमा आफु जुट्ने बताए ।
नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । चुनाव प्रचार प्रसार समितिका संयोजक राष्ट्रिय सभाका पुर्वसदस्य हरिचरण शिवाकोटीको नेतृत्वमा आज सोमबार वडा नम्बर २ को बालुवाटार, चारपाने चोक, त्रिशुली चौक, कच्चुवारी, लालमाटी, चैतुवारी लगायतका क्षेत्रमा कोण सभाको आयोजना गरीएको थियो ।